इसाई अगुवापनको प्रभावः अभ्यास, चुनौतीहरू र बलियो पक्षहरू

शीर्षक : नेपाली इसाई अगुवापनको प्रभावः अभ्यास, चुनौतीहरू र बलियो पक्षहरू

परिचय:

हरेक समुदायमा, अगुवापनले दिर्घकालिन परिवर्तन ल्याउने र अरूलाई त्यो कदममा हिँड्न प्रभाव पारेको हुन्छ । नेपाली जगतमा अगुवापनलाई एकदमै नियालिएको छ । नेपालको राजनीतिमा पनि अगुवापन मानिसहरूको विशेष चासो हो जहाँ मानिसहरू परिवर्तन र प्रभावकारी अगुवा चाहन्छन् । म यस लेखमा नेपाली इसाई अगुवापनको सकरात्मक पक्षहरू र नकरात्मक पक्षहरूबारे उल्लेख गर्दैछु । यसको उद्देश्य अझै पनि नेपाली इसाई अगुवाहरू वृद्धि हुनुपर्ने ठाउँहरू छ भनेर विचार प्रकट गर्नु र उत्साह पनि प्रदान गर्नु हो ।

बिगत १० भन्दा बढि सक्रिय सेवाकार्यको मेरो अनुभव र भोगाईमा, मैले नेपाली अगुवापनमा देखेको केहि चुनौतीहरू यसप्रकार रहेका छन्ः

१. एकल अगुवापन र समूहमा काम गर्ने संस्कृतिको अभावः नेपाली इसाई अगुवापनमा देखिएको र प्रायजसो सुनिरहेको एउटा चुनौती भनेको एकल अगुवापन हो । पाष्टर आफैंले नै सबै निर्णय गर्नुपर्ने, जिम्मेवारी हस्तान्तरण नगर्ने, सबै कुरामा पाष्टर नै देखिनुपर्ने र एक्लै सेवाकार्यमा लागिरहेको कुरा चुनौतीहरूको रुपमा देखिन्छ । अगुवापनलाई केवल एक जनाको जिम्मेवारी मात्र बनाइने परम्परा जस्तै भएको छ, जसले परिवर्तनलाई रोक्छ र अतिरिक्त बोझमा राख्नेछ ।

२. ज्येष्ठताको अति जोडः मण्डली सेवाकार्यमा मैले अनुभव गरेको अर्को भोगाई भनेको उमेरको आदरमा प्राथमिकतालाई चयन गर्नु हो । उदाहरणको रुपमा पाष्टर बुवाले भनेको सबै कुरा सहि हो, हामीले आदर गरेर हरेक कुरा उहाँले भनेझै गर्नुपर्छ । यही परम्पराले ज्येष्ठतालाई बढावा दियो जसले गर्दा हरेक कार्यक्रममा मान सम्मान दिए आउने नत्र नआउने, निसंकोच ज्येष्ठ व्यक्ति भलै गलत भएपनि उमेरको आदरमा उसलाई नै बढि महत्व दिने जुन कुरा एक समस्याको रुपमा देखिन्छ । प्राय कति बरिष्ठ व्यक्तिहरूमा यसप्रकारको ‘म हुँ,’ मैले शुरु गरेको, मलाई सबैले मान्नै पर्छ भन्ने ‘म’भन्ने भावनाले ओतप्रोत भएको देखिन्छ । उमेर र अनुभवलाई अत्यधिक प्राथमिकता दिँदा नयाँ सोंच राख्ने युवाहरू अगुवापनमा आउन पाउँदैनन् ।

३. हो भन्ने संस्कृतिको प्रभावः प्राय अगुवाहरू विवादको डरले फरक मत राख्न सक्दैन जसको परिणामस्वरुप हो मा हो मिलाउन पुग्छन् । अगुवालाई फरक देखाउने गुण भनेको सत्य बोल्नु हो । बाइबलले पनि “हो” लाई हो र “होइन्” लाई होइन् भन्ने कुरामा जोड दिन्छ (मत्ती ५:३७) । मनभित्र चाहिँ यो गलत होइन् भन्ने लाग्ने तर बाहिरचाहिँ ठिक्क पार्ने स्वभाव वास्तविकमै एक अगुवाको दोहोरो स्वभाव हो । विवाद टार्न वा अरुलाई खुसी पार्न धेरै अगुवाहरू अनावश्यक रुपमा सहमति जनाउँछन्, जसले कामको प्रभावकारिता कम गर्छ ।

४. जातिवाद, नातावाद र कृपावादको गन्ध आउनुः मेरो विचारमा पक्षपात भनेको क्यान्सर रोग जस्तै हो जुन प्रत्यक्षरुपमा घातक नदेखिन सक्छ तर अन्त्यमा यसले प्राणघातक रुप लिन सक्छ । आज कतिपय अगुवाहरु यसको सिकार भएका छन् । हुनत येशूलाई विश्वास गर्नेहरूमा यो कुरा नेदेखिनुपर्ने हो तर मानविय स्वार्थ र फाइदाको केन्द्रमा एक व्यक्ति उभिँदा यो पक्षपात हुन सक्छ । कतिपय अगुवाहरूको जीवनमा यो खालको स्वभाव प्रकट हुन्छ । आफ्नो मनपर्ने मान्छेलाई स्थान दिने अरुको असलपनालाई वेवास्ता गर्ने । जातिवाद, नातावाद र कृपावादको आधारमा विशेष स्थान दिने जुन पक्षपातको गुण हो । पक्षपातले एक व्यक्तिले पाउनुपर्ने हक, अधिकारको हनन गर्छ । यसले अरुको अवसर खोस्छ । यसको समाधानको लागि एक अगुवाले येशू ख्रीष्टको चरित्र धारण गरेको अगुवा हुनुपर्छ ।

नेपाली इसाई अगुवापनमा देखिएको बलियो पक्षहरू

सबै अगुवाहरूमा कमजोरी मात्र छन् भन्ने पनि छैन् । कतिपय अगुवाहरू उदाहरणीय र प्रेरणा प्रदान गर्ने वरदान भएकाहरू पनि छन् । माथिका चुनौतीहरूका बीच, नेपाली इसाई मण्डलीका अगुवाहरूको केही महत्वपूर्ण बलियो पक्षहरू छन्ः

१. अतिथि सत्कार गर्ने र अरुलाई मूल्य दिने कुराः मेरो सेवाकार्यमा मैले देखेको मण्डलीका अगुवाहरूको एक बलियो पक्ष भनेको अरुलाई मूल्य दिने र अतिथि सत्कार गर्ने कार्य हो । नेपालका विभिन्न ठाउँहरूमा पाष्टर अगुवाहरूलाई भेट्दै गर्दा उहाँहरूले पाहुनालाई गर्ने आदर र सत्कार निकै राम्रो देखिन्छ । हुनत हाम्रो देशमा अतिथि सत्कार गर्ने चलन राम्रो नै छ । नेपाली मण्डलीहरूले पनि मण्डलीमा आएको नयाँ व्यक्तिलाई स्वागत गर्ने गरेको देखिन्छ जसले निकटता र न्यानो सम्बन्ध निर्माण गर्नलाई अझ जोड दिँदछ । अरुलाई मूल्य दिने कुराले इसाई अगुवापन एक नमूना बन्दछ ।

२. गहिरो सम्बन्ध निर्माणमा जोडः नेपाली इसाई अगुवाहरूले सम्बन्ध बनाउने कुरामा बलिया देखिन्छन् । छिट्टै सम्बन्ध र सञ्जाल निर्माण गर्ने र सम्बन्ध मार्फत एक अर्कासँग जोडिने, उत्साह दिने कुरा नेपाली इसाई अगुवाहरूको निकै आकर्षक पक्ष देखिन्छ । सुसमाचारको एक बलियो सूचक चाहिँ सम्बन्ध पनि हो । सम्बन्धहरूले मण्डलीको आत्मिक पक्षलाई मजबुत बनाउने भएकाले यसले अझै विश्वास, सहभागिता र सहकार्य बढाउन मद्दत गर्छ ।

३. कामद्वारा असल कार्य प्रदर्शन गर्नुः पवित्र धर्मशास्त्र बाइबल (मत्ती ५:१३–१४) ले येशूका चेलाहरूलाई पृथ्वीको नून र ज्योतिको संज्ञा दिएकाले इसाई अगुवाहरूले सामाजिक कार्यद्वारा समुदायमा परमेश्वरको प्रेम प्रदर्शन गर्नु पर्दछ । यसकार्यमा उनीहरू अग्रपंक्तिमा रहेको पाईन्छ । अहिलेका नेपाली मण्डलीका अगुवाहरूले मानिसहरूलाई येशूख्रीष्टमा ल्याउने हो भने चर्च संलग्न सामुदायिक कार्य र चर्च र समुदाय सँगसँगै मिलेर सर्वा∙िण सेवा गर्दै विकासको कार्य गर्नु पर्दछ । हाल नेपाली मण्डली र पाष्टरअगुवाहरूले समाजमा मानिसहरूको दुःखकष्ट र विपत्मा राहत तथा पुनस्र्थापनाको काम गरि सामाजिक कामद्वारा समाजमा उदाहरणीय जीवन जिएको पाईन्छ ।

४. सुशासन कायम गर्ने र न्यायलाई अभ्यास गर्ने प्रयासः नेपाली इसाई अगुवाहरूले भ्रष्टचार र घुस लेनदेनलाई पापको रुपमा स्वीकार्छन् । मण्डली र समाजमा सुशासन कायम राख्ने गर्दछन् । समुदायमा भएका आवाजविहिनहरूको आवाज बनिदिने र विपन्न, महिला, अपाङगता भएका मानिसहरू, बालबालिका, दलित तथा सबै प्रकारका सिमान्तकृत वर्गको पक्षमा रहि पैरवी गर्ने गर्दछन् र अधिकारको लागि सम्बन्धित निकायसम्म पुग्ने गरेको पाईन्छ ।

निष्कर्षः नेपाली इसाई अगुवाहरूको समाजमा गहिरो प्रभाव रहेको पाईन्छ । यति हुँदाहुँदै पनि उनीहरुमा जिम्मेवारी हस्तान्तरण नगरी जीवन प्रयन्त एकल अगुवापनको सेवकार्य गर्ने परिपाटि देखिन्छ । नेपाली मण्डलीहरूले बोलावट र दानवरदान नहेरी जेष्ठ अगुवापनलाई पत्यार गर्ने गरेको पनि पाईन्छ । ती अगुवाहरूले मण्डलीमा पाप केहो भनी थाह नगर्ने र कतिपय अवस्थामा जातिवाद, नातावाद र कृपावाद हावी भएको देखिन्छ । यति हुँदाहुँदै पनि अरुलाई मूल्य दिने, अतिथी सत्कार गर्ने, सम्बन्धलाई निर्माण गर्न जोड दिने बानी, समाजमा असलकार्य गर्ने, सुशासन कायम गर्न पहल गर्ने र सृष्टिको हेरचाह गर्ने जस्ता अगुवापनका सबल पक्षहरू पसिन पाईन्छ । नेपाली समुदायको अविश्वास र घृणालाई चिर्न इसाई अगुवाहरू मण्डलीको घेरा भित्रमात्र सीमित नरहि समाज र राष्ट्रको हित हुने कुरामा लागि पर्ने देखिन्छ । एक इसाई अगुवा परिवर्तनगामी र प्रभावशाली हुनुपर्ने आजको आवश्यकता हो ।

Write a comment