पुरानो करारमा गोठालोको अवधारण | The concept of the shepherd in the Old Testament

लेखक: प्रकाश लोप्चन

पुरानो करारमा गोठालोको अवधारण

गोठालो एक प्राचिन समयदेखि नै चलिआएको पेसा हो । पुरानो करारमा गोठालो भन्ने शब्द नौलो भने पक्कै होइन् । याकूब, मोशा र दाउद पनि गोठालाहरु नै थिए । प्राचिन निकट–पूर्वमा वा त्यो बेला गोठालो पेसा साधारण, एकदमै माग भएको र साँस्कृतिक रुपमा महत्वपूर्ण पेशा थियो । त्यस बेलाको पूर्वी साहित्यमा गोठालो भन्ने शब्दले डोर्‍याउने, खुवाउने र सुरक्षा दिने जिम्मेवारीको चित्रण गर्दथ्यो । त्यो बेला प्रयोग हुने भाषामा राजा पनि गोठालो जस्तै हो । त्यसै गरी इस्राएलको राजा हुनु भनेको आफ्नो प्रजाको लागि गोठालो हुनु भनेर बुझिन्थ्यो ।

इस्राएलका गोठालोको रुपमा परमेश्वर

पुरानो करारमा परमेश्वर आफूलाई इस्राएलको गोठालोको रुपमा चित्रण गर्नुहुन्छ । भजनसंग्रह २३ मा दाउदले परमेश्वरलाई मेरो गोठालो हुनुहुन्छ भनी स्विकार गर्छन् । उनको अन्य थुप्रै भजनमा पनि परमेश्वर उहाँका मानिसहरुका गोठालो हुनुहुन्छ भनेर भनेका छन् साथै इस्राएललाई उहाँका र्खकका भेडाहरु भनेर सम्बोधन गरेका छन् । (भजन ७८:५२, भजन ९५:७, १००:३)

उत्पत्ति ४८:१५ मा याकूबले परमेश्वरले मेरो जीवनभरि आजसम्म मलाई डोर्‍याउनुभएको छ भन्ने कुराले परमेश्वर मेरो गोठालो हुनुहुन्छ भन्ने देखाउँछ ।

पुरानो करारमा देखिएको गोठालाहरु

१. हाबिलः पहिलो गोठालो

हाबिलको कथा छोटो तर महत्वपूर्ण कथा उत्पत्ति ३ अध्यायमा पाउँछौ । गोठालोको भूमिकामा हाबिलले आफ्नो बगालसित घनिष्ठ भई काम गरे र तिनीहरुको आवश्यकताको हेरचाह गरे र सुरक्षा दिने कुराको पनि सुनिश्चित गरे । आफ्ना भेडाको बगालबाट पहिले बियाएका पाठाहरुका बोसे भाग ल्याए जुन परमप्रभुले ग्रहण गर्नुभयो (उत्पत्ति ४:४) । यो कुराले गोठालाको पेशालाई आदर र सम्मानको योग्य एक प्रतिष्ठित पेशाको रुपमा हेरिन्थ्यो भनेर देखाउँछ ।

२. अब्रहाम र इसहाकः फिरन्ते गोठालाहरु

अब्राहाम र तिनका छोरा इसहाक पनि गोठालाहरु थिए । तिनीहरुले घुम्न्ते जीवन बिताए, पशु चराउने चउरको खोजीमा आफ्ना बगालहरुसहित एक ठाउँबाट अर्को ठाउँमा गए (उत्पत्ति १२:१६, २६:१२–१४)। गोठालो जीवन त्यति सजिलो थिएन्, यस पेशामा शारिरिक परिश्रम, सर्तकता र बगालको हेरचाहमा रहेको जमिन र जनावरहरु दुवैको बारे राम्रो ज्ञान हुन आवश्यक थियो । तिनीहरुको कथाहरुले लगनशीलता, धैर्यता र इमान्दारीताको महत्वलाई जोड दिन्छ ।

३. मोशाः गोठालो अगुवा

मोशा, जसले इस्राएलीहरुलाई मिश्र देशबाट छुटाए र व्यवास्था दिए । मोशा इस्राएलीहरुको उद्धारकर्ता हुन अघि उनी मिश्रबाट भागेका थिए र मिद्यानी मरुभूमिमा गोठालोको रुपमा ४० बर्ष बिताए (प्रस्थान ३:१) । यहि समयमा जहाँ तिनले परमेश्वरका जनहरुलाई डोर्‍याउन र तिनको हेरचाह गर्न चाहिने सीप र बुद्धि हासिल गरे । इस्राएलीहरुले बारम्बार गनगन गर्दा नि गोठालो झै बगालको साथ र नेतृत्व गर्न कहिल्यै छोडेन् ।

४. राजा दाउदः गोठालो राजा

राजा हुन अघि दाउद पनि गोठाला थिए जसले आफ्ना पिताको भेडाहरु चराउँथे (१ शमूएल १६:११) । परमेश्वरमा विश्वास राख्ने दाउद निकै साहशिलो गोठाला थिए जसले आफ्ना बगाललाई सिँह भालु जस्तो जनावरहरुबाट बचाउँथे (१ शमूएल १७:३४–३६) । दाउदको गोठालोको हृदय थियो जसले गर्दा राजा भएपछि पनि उनले दया, नम्रता र असल न्यायमा शासन गरे ।

गोठालोको जिम्मेवारी

गोठालोहरुले आफ्नो बगालहरुलाई हरियो चउर र शान्त पानीका स्रोतमा लैजान्थे, र रक्षकको रुपमा दृढ रहेर भालु, बाघ, चोरबाट सुरक्षा गर्थे । लाहुरोको प्रयोग गर्दै उनीहरुले भेडालाई बचाउँथे । राति गोठालाहरु भेडाहरुको गोठको ढोकामा सुत्ने गर्दथे र आफ्नो ज्यान जोखिममा राख्दै्र ती गोठालाहरुले बगालको सुरक्षा गर्दथे । तिनीहरु आफ्नो बगालको हेरचाह गर्न मात्र होइन तर समुदायलाई बाहिरी खतराहरुबाट जोगाउन पनि जिम्मेवार थिए ।

पुरानो करामा गोठालोको भूमिका केवल एक पेशा मात्र थिएन तर यो नेतृत्व र हेरचाहको चिन्ह पनि थियो । गोठालोले आफ्नो बगालको लागि सर्मपणताको प्रतिबिम्ब गर्दथ्यो र असल तरिकाले खुवाउने चराउने कार्य गर्दथ्यो ।

बगालको रक्षा गर्नुपर्ने जिम्मेवारी पुरानो र नयाँ करार दुवैमा बारम्बार दोहोरिने विषय हो । पुरानो नियममा राजा हुनुअघि गोठालोको रुपमा चिनिएको दाऊदले कसरी आफ्ना बगाललाई सिंह र भालुजस्ता सिकारीहरुबाट बचाए (१ शमूएल १७:३४–३६) । त्यस्तै गरी, नयाँ नियममा, येशूलाई असल गोठालो भनेर उल्लेख गरिएको छ, उहाँले आफ्ना भेडाहरुको लागि आफ्ना अर्पण गर्ने बारेमा बोल्नुहुन्छ, जसले सुरक्षाको अन्तिम कार्यबारे संकेत गर्दछ (यूहन्ना १०:११)

बाइबलिय गोठालोको विशेषताहरु

  •  सुरक्षाः बाइबलिय गोठालोले आफ्नो बगाललाई बाहिरी हानी होस् अथवा भित्री हानि दुवैबाट जोगाउने जिम्मेवारी राख्छ ।
  •  निर्देशनः बाइबलीय गोठालोले आफ्नो बगाललाई हरियो चउर र शान्त पानीमा डोर्‍याउँछ ।
  • हेरचाहः बाइबलीय गोठालोले बगालको हेरचाह र तिनीहरुको आवश्यकताहरु पुरा गर्दछ ।
  • बलिदानः बाइबलिय गोठालोले आफ्नो बगालको खातिर आफैलाई बलिदान दिन तयार हुन्छ, जुन कुरा येशूले मानवजातिको लागि आफ्नो प्राण पनि दिनुभयो भन्ने कुराबाट स्पष्ट हुन्छ ।

 

References:

The Shepherd in the Old Testament – Shepherd of Souls

Old Testament Shepherds | George’s Journal

Personal notes on Good Shepherd

Write a comment